“सुन त, बुढा ! अब म सुत्केरी हुने बेला भयो । के ले उकास्छौ ?” पेटमा हुर्किदै गएको मायाको चिनोप्रती सङ्केत गर्दै उनले भनिन् ।
“तिमि चिन्ता नगर न ! म केही व्यवस्था गरिहाल्छु नि !” उसले सहजै श्रीमतीलाई सान्त्वना दिँदै भन्यो ।
गरिब र अभावको पीडाले दन्केको आगो कसरी निभाउने ? सञ्जयको लागि यो चिन्ताको विषय थियो । वर्षामा तपतप पानी चुहिने झुपडी भए पनि गुजाराको लागि दाना पानी थिएन घरभित्र ।
सुत्केरी कसरी उतार्ने होला । ऊ सोच्दै थियो ।
साँझ पख उनीहरूको घरमा लक्ष्मीको आगमन भयो सञ्जय दौडिएर छिमेकीको घर भित्र पस्यो र आफ्नो समस्या तेर्साएर केहि रकम सापटीको लागि हात जोड्दै अनुनय गर्न थाल्यो । निस्ठुरी छिमेकीले उसको अनुनय प्रति सहानुभूति बाहेक केही दिन सकेनन् । छिमेकीको रुखो वचन खाएर ऊ सडकमा निस्कियो ।
बाटोमा समाजका प्रतिष्ठित दानवीर ऋषिप्रसादसँग जम्काभेट भयो।
उज्यालो वर्णका ऋषिले सोधे – किन आत्तिएको सञ्जय ? के भयो ? कता हिँडेका हौ साँझमा ?
उसले सुरुमा त केही भनेन तर ऋषिको विनम्र अनुरोधमा वास्तविकता सबै बतायो ।
ऋषिले उसलाई सान्त्वना दिँदै भने –
चिन्ता लिनु पर्दैन । तिम्रो सबै मनोकामनाहरू पूरा हुनेछन् । तिम्रो जहानलाई तिम्रो खाँचो छ । बरु छिट्टै घर जाऊ ।
हस्याङ फस्याङ गर्दै ऊ घर पुग्यो । श्रीमतीको मुहार उज्यालो थियो पूर्णिमाको जून जस्तै धप्प बलेकी
घिउ , फलफूल र खानाका विभिन्न परिकारहरू टेबुल भरी सजिसजाउ देखिन्थे । ऊ आश्चर्य चकित भयो ।
उसले छोरीको अनुहारलाई गहिरोसँग नियालेर हेर्यो
उज्यालो वर्ण धपक्क बलेकी उसले भर्खरै भेटेर सान्त्वना दिएका ऋषिको अनुहार सम्झियो र मनमनै धन्यवाद दिँदै भन्यो – बढो उपकारी मान्छे !
शान्ता तिम्सिना
भक्तपुर सिर्जना नगर